२०८३, भाद्र ५ गते

शुक्रवार, भाद्र ५ गते २०८३

जापानिज इन्सेफलाइटिस : नेपालमा बढ्दो जोखिम र चुनौती

बिहिवार, भाद्र ४ २०८३१०:५०

१९औँ शताब्दीको उत्तरार्धमा जापानमा लामखुट्टेको टोकाइपछि मानिसहरूमा उच्च ज्वरो, होस गुम्ने, मांसपेशी कडा हुने र टाउको दुख्ने जस्ता लक्षण देखिन थाले। अनुसन्धानपछि मस्तिष्कमा असर गर्ने संक्रमण भएको पत्ता लाग्यो। सन् १९२४ मा पुनः महामारी फैलिएपछि यस रोगलाई औपचारिक रूपमा पहिचान गर्दै ‘जापानिज इन्सेफलाइटिस’ नाम दिइयो।

जापानिज इन्सेफलाइटिस (जेई) जापानिज इन्सेफलाइटिस भाइरसका कारण हुने गम्भीर संक्रमण हो। क्युलेक्स लामखुट्टेले संक्रमित सुँगुर तथा चराहरूबाट भाइरस लिएर मानिसमा सार्छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार जेईले मुख्यतः मस्तिष्कमा असर गर्छ। संक्रमितमा उच्च ज्वरो, टाउको दुख्ने, वान्ता हुने, घाँटी तथा मांसपेशी कडा हुने जस्ता लक्षण देखिन्छन्। गम्भीर अवस्थामा होस गुम्ने, कोमा, पक्षाघात, बोली तथा स्मरणशक्तिमा समस्या र मृत्यु समेत हुन सक्छ।

संक्रमित लामखुट्टेले टोकेको ५ देखि १५ दिनमा लक्षण देखिन सक्छ। जेई पुष्टि गर्न रगत वा मेरुदण्डबाट निकालिएको तरल पदार्थ परीक्षण गरिन्छ।

नेपालमा सन् १९७८ अर्थात् २०३५ सालमा पहिलोपटक जेई संक्रमण पुष्टि भएको थियो। सन् २००९ सम्म २० जिल्लामा संक्रमण देखिएपछि सरकारले खोप अभियान सञ्चालन गर्‍यो। २०७३ सालदेखि १२ महिना पुगेका बालबालिकालाई नियमित रूपमा जेई खोप दिइँदै आएको छ।

पछिल्लो पाँच वर्षमा नेपालमा जेईबाट ११० जनाको मृत्यु भएको छ। सन् २०२२ मा ७९ संक्रमितमध्ये ४, २०२३ मा १०८ मध्ये २०, २०२४ मा ८६ मध्ये २८ र २०२५ मा १८३ संक्रमितमध्ये ४१ जनाको मृत्यु भएको थियो।

चालु वर्षमा ४६६ जनामा संक्रमण पुष्टि हुँदा १७ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। यस वर्ष २३ जिल्लाका ५१ स्थानीय तहमा संक्रमण देखिएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै झापाका छन्।

नेपालमा जेईको जोखिम मनसुनसँगै बढ्छ। विशेषगरी असारदेखि असोजसम्म र साउन–भदौमा संक्रमण बढी देखिन्छ। धान खेतमा जमेको पानी क्युलेक्स लामखुट्टेका लागि उपयुक्त प्रजननस्थल बन्ने भएकाले धान खेती हुने क्षेत्र बढी जोखिममा रहन्छन्।

जेई भाइरसलाई सिधै नष्ट गर्ने प्रभावकारी औषधि छैन। उपचार मुख्यतः लक्षण र जटिलता नियन्त्रणमा केन्द्रित हुन्छ। गम्भीर संक्रमणबाट निको भएका केही व्यक्तिमा दीर्घकालीन स्नायुसम्बन्धी समस्या रहन सक्छ।

जेईबाट बच्ने मुख्य उपाय खोप र लामखुट्टेको टोकाइबाट सुरक्षा हो। सुत्दा झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने, घरवरपर पानी जम्न नदिने तथा लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने गर्नुपर्छ।

उच्च ज्वरो, अत्यधिक टाउको दुख्ने, मांसपेशी कडा हुने, वान्ता वा होसमा परिवर्तन आउने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij