काठमाडौं। भारतको कोलकातास्थित मिर्जा गालिब स्ट्रिटको एक होटलमा बुधबार बिहान भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार आगलागी बिहान करिब २ बजे भएको हो। अधिकांश मानिसहरू सुतिरहेका बेला आगलागी भएपछि होटलमा भागदौड मच्चिएको थियो।
प्रारम्भिक जानकारीअनुसार मृत्यु हुने सबै ९ जना बंगलादेशी नागरिक हुन्। उनीहरू उपचारका लागि कोलकाता आएको बताइएको छ।
बाक्लो धुवाँ र आगोको तीव्र लप्काका कारण उद्धारमा कठिनाइ भएको थियो। घटनालगत्तै प्रहरी र दमकलका कैयौँ गाडी घटनास्थलमा पुगेका थिए। लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको छ।
आगलागीको कारण भने खुलेको छैन। प्रहरीले फरेन्सिक टोलीको सहयोगमा घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
यसअघि सोमबार पश्चिम बंगालकै बीरभूम जिल्लामा चारतले होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस