२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

कांग्रेस सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’ फराकिलो मतान्तरले निर्वाचित

बिहिवार, आश्विन २९ २०८३१२:२६

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दलित क्लस्टरतर्फ सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’ फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार रसाइलीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेका छन्।

दलित क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित रसाइली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट पदाधिकारी बन्ने एक्ला नेता हुन्। उनी कांग्रेसको समावेशी कोटाबाट पदाधिकारीमा निर्वाचित हुने एक्ला दलित नेतासमेत हुन्।

१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका रसाइलीलाई गत पुसमा सम्पन्न विशेष महाधिवेशनले सहमहामन्त्री चयन गरेको थियो। १५औँ महाधिवेशनबाट उनी पुनः सहमहामन्त्रीमा निर्वाचित हुँदै महाधिवेशन प्रतिनिधिबाट अनुमोदित भएका छन्।

२०३४ सालमा कांग्रेसका पुराना नेता रुद्रवीर स्नेहीको परिवारमा जन्मिएका रसाइली बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्किएका हुन्। परिवारभित्र लोकतन्त्र, समानता र अधिकारका विषयमा हुने छलफलले उनको राजनीतिक चेतनालाई प्रभावित गरेको थियो। २०४६ सालको जनआन्दोलनले राजनीतिप्रतिको उनको दृष्टिकोणलाई थप आकार दिएको उनी बताउँछन्।

२०४७ सालमा नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीति सुरु गरेका रसाइली अध्ययनसँगै संगठन निर्माणमा जुटे। बझाङको सत्यवादी माध्यमिक विद्यालयमा कक्षा ६ देखि ८ सम्म अध्ययन गरेका उनी उच्च शिक्षाका लागि काठमाडौं आएका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन्।

राजधानीमा रहेर पनि उनले सुदूरपश्चिम, विशेषगरी बझाङका विद्यार्थी, दलित तथा सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राखे। विद्यार्थी राजनीतिमा सक्रिय हुँदै २०६० सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका रसाइली २०६२/६३ को जनआन्दोलनमा अग्रपंक्तिमा सहभागी भएका थिए। आन्दोलनका क्रममा उनले गिरफ्तारी र दमनसमेत भोग्नुपरेको थियो।

दलित अधिकारका क्षेत्रमा रसाइलीको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। नेपाल दलित संघको केन्द्रीय महासचिवको जिम्मेवारी सम्हाल्दै उनले जातीय विभेद, छुवाछुत र सामाजिक बहिष्करणविरुद्ध आवाज उठाएका थिए।

नीति निर्माणदेखि सडक आन्दोलनसम्मको सक्रियतामार्फत दलित समुदायका मुद्दालाई राष्ट्रिय राजनीतिक बहसमा स्थापित गर्न उनले भूमिका खेलेका छन्।

२०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेपछि रसाइलीले संसदीय बहसमा सामाजिक न्याय, समावेशिता र दुर्गम क्षेत्रको विकासका विषयलाई प्राथमिकता दिएका थिए।

पार्टी संगठनभित्र पनि उनको भूमिका विस्तार हुँदै गएको छ। १५औँ महाधिवेशनअघि उनी कांग्रेस बझाङको राजनीतिमा तीन पटक महासमिति सदस्य बनिसकेका थिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रसाइली बझाङबाट उम्मेदवार बनेका थिए। विकास, सुशासन र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिए पनि परिणाम उनको पक्षमा आउन सकेन।

प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेका रसाइलीले कांग्रेसको १५औँ महाधिवेशनबाट भने सहमहामन्त्रीमा फराकिलो मतान्तरसहित निर्वाचित हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो स्थान थप मजबुत बनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij