उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गर्न सकिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको छ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार आफ्नो नौसैनिक क्षमताको प्रभावकारिता र प्रतिरोधात्मक हतियारको विश्वसनीयता जाँच्न उक्त परीक्षण गरिएको हो।
बिहीबार सार्वजनिक गरिएको विवरणअनुसार उत्तर कोरियाको पूर्वी तटबाट टाढा समुद्रमा मिसाइल परीक्षण गरिएको थियो। परीक्षणका क्रममा वरिष्ठ सैन्य अधिकारीहरू उपस्थित रहेको केसीएनएले जनाएको छ।
परीक्षण गरिएका मिसाइलको विशेषता र प्रक्षेपण प्रक्रियाबारे उत्तर कोरियाले थप विवरण सार्वजनिक गरेको छैन। परीक्षणले छिमेकी मुलुकहरूको सुरक्षामा कुनै प्रतिकूल प्रभाव नपारेको पनि उसले दाबी गरेको छ।
उत्तर कोरियाले पछिल्लो समय आधुनिक मिसाइल पनडुब्बी निर्माण तथा ब्यालेस्टिक र क्रुज मिसाइलको विकासलाई तीव्रता दिँदै आएको छ। उसले पुराना पनडुब्बीसहित विभिन्न प्रक्षेपण प्रणालीबाट मिसाइल परीक्षण गर्दै आएको छ।
यद्यपि, उत्तर कोरियाले आधुनिक मिसाइल पनडुब्बीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइसकेको विश्वास गरिएको छैन। यस्तो पनडुब्बीको विकास गर्नु नेता किम जोङ उनको प्रमुख सैन्य प्राथमिकतामध्ये एक रहेको छ।
किमले पछिल्लो समय विभिन्न प्रकारका रणनीतिक ब्यालेस्टिक तथा क्रुज मिसाइलको विकासलाई प्रत्यक्ष निगरानी गर्दै आएका छन्।
पनडुब्बीबाट प्रहार गर्न सकिने मिसाइलले उत्तर कोरियाको समुद्री सैन्य क्षमता विस्तार गर्नुका साथै सम्भावित आक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस