पोखरा/कास्की । नेपाली नृत्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, आध्यात्मिक साधक तथा सामाजिक अभियन्ता महेश्वर सुनार आगामी निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट समानुपातिक उम्मेदवार सिफारिस हुनुभएको छ। पार्टीले उहाँलाई बन्द सूचीको क्रम संख्या २ मा राख्दै प्राथमिकताका साथ अघि सारेको हो।
पछिल्ला तीन दशकभन्दा बढी समयदेखि नेपाली नृत्य क्षेत्रमा सक्रिय सुनार सन् १९९९ मा भारतीय चर्चित रियालिटी शो ‘बुगी उगी’ का विजेता बनेर अन्तर्राष्ट्रिय स्तरमै नेपाली प्रतिभाको पहिचान स्थापित गर्न सफल हुनुभएको थियो। त्यसपछि नेपालमा प्रसारित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘छमछमी’ को सिजन १ देखि ४ सम्म मुख्य निर्णायकको रूपमा रहेर नेपाली नृत्यलाई व्यावसायिक र संस्थागत दिशातर्फ डोर्याउन उहाँको योगदान उल्लेखनीय मानिन्छ।
बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका संस्थापक निर्देशक सुनारले ‘एसईई डान्स च्याम्पियनसिप’ जस्ता कार्यक्रममार्फत करिब २०० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै कला र शिक्षाबीचको दूरी घटाउने अभियान निरन्तर अघि बढाउँदै आउनुभएको छ।
उहाँ नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सभा सदस्य, राष्ट्रिय नृत्य संघका केन्द्रीय अध्यक्ष तथा दलित साहित्य तथा सांस्कृतिक प्रतिष्ठानमा सक्रिय अभियन्ताका रूपमा परिचित हुनुहुन्छ। कलासँगै अध्यात्ममा गहिरो आस्था राख्ने सुनार ॐ श्री त्रिकुटा गुरुधाम नेपाल का निवर्तमान अध्यक्षसमेत रहनुभएको छ।
महेश गोदारको राजनीतिक नेतृत्व र सुनारको उम्मेदवारी
प्रलोपा पार्टीका अध्यक्ष तथा वैचारिक अगुवा महेश गोदार को नेतृत्वमा पार्टीले यसपटक कला, संस्कृति र सामाजिक आन्दोलनबाट खारिएका व्यक्तित्वलाई नीति निर्माणको तहमा पुर्याउने रणनीति लिएको देखिन्छ। गोदारले लामो समयदेखि समावेशी लोकतन्त्र, दलित अधिकार, श्रमजीवी वर्गको प्रतिनिधित्व र वैकल्पिक राजनीतिक संस्कृतिको पक्षमा आवाज उठाउँदै आउनुभएको छ।
महेश गोदार नेतृत्वको पार्टीले महेश्वर सुनारलाई उच्च प्राथमिकतामा राखेर उम्मेदवार सिफारिस गर्नुलाई कला–संस्कृति क्षेत्रको सम्मान र सामाजिक आन्दोलनको राजनीतिकरण को रूपमा विश्लेषण गर्न थालिएको छ। यसले परम्परागत राजनीतिबाट निराश मतदातामाझ नयाँ आशा र बहस सिर्जना गरेको छ।
दलित तथा पिछडिएका वर्गको हक–अधिकारका लागि निरन्तर आवाज उठाउँदै आउनुभएका सुनारले आफ्नो उम्मेदवारीलाई “कला, साधना र सेवाको त्रिवेणी” को रूपमा व्याख्या गर्नुभएको छ। उहाँले ‘आँखा’ चुनाव चिन्ह मार्फत नीति निर्माणको तहमा पुगेर समाजको वास्तविक रूपान्तरण गर्ने संकल्प व्यक्त गर्नुभएको छ।

