काठमाडौं । बंगलादेशका एक राज्यमन्त्री हातमा पेस्तोल बोकेर लागुऔषधविरुद्धको कारबाहीमा आफैँ सडकमा उत्रिएपछि विवादमा तानिएका छन् ।
राजधानी ढाकाको गेन्दारिया क्षेत्रमा राज्यमन्त्री इशराक हुसेन आफ्ना समर्थकसहित पेस्तोल बोकेर बस्तीमा छापा मार्दै हिँडेको भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भइरहेको छ । शनिबार भएको उक्त घटनामा मन्त्री हुसेन र उनका सहयोगीले लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिनुका साथै त्रिपालका टहरासमेत भत्काएका थिए ।
मन्त्री हुसेनले उक्त कारबाहीको भिडियो आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा उनले छ जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाबी गरेका छन् ।
मन्त्रीले पेस्तोलसहित छापा मारेको भिडियो सार्वजनिक भएपछि सुरक्षा निकाय तथा सर्वसाधारणले यसको विरोध गरेका छन् । छापा मार्ने र कारबाही गर्ने अधिकार कानुन कार्यान्वयन गर्ने निकायको भएको भन्दै मन्त्रीको शैलीमाथि प्रश्न उठाइएको छ ।
यस विषयमा ढाका महानगरीय प्रहरीका उपआयुक्त मलिक अहसान उद्दिन सामीले छापा मार्ने विशेषाधिकार सुरक्षा निकायलाई मात्रै रहेको स्पष्ट पारेका छन् । यद्यपि, बंगलादेशको कानुनअनुसार कुनै पनि नागरिकले अपराधमा संलग्न भएको आशंका गरिएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउन सक्ने उनले बताएका छन् ।
प्रहरीका अनुसार मन्त्रीले जानकारी गराएपछि १० जनालाई गेन्दारिया प्रहरी चौकीमा ल्याइएको थियो । गेन्दारिया प्रहरी प्रमुख मुनिरुज्जमान मुनिरले पक्राउ परेका व्यक्तिहरूको साथबाट सेतो धुलोजस्तो शंकास्पद पदार्थ बरामद भएको जानकारी दिएका छन् । उक्त पदार्थ लागुऔषध हो वा होइन भन्ने पुष्टि गर्न प्रयोगशाला परीक्षणका लागि पठाइएको उनले बताए ।
मन्त्री हुसेनले लागुऔषधका कारण देशका युवा कुलतमा फसेर बर्बाद भइरहेको भन्दै आफूले विगत छ महिनादेखि यसबारे सूचना संकलन गरिरहेको बताएका छन् । लागुऔषधको सञ्जाल तोड्न अभियान सञ्चालन गरिएको उनको दाबी छ ।
उनले आफ्नै पार्टीका कुनै व्यक्ति लागुऔषध कारोबारमा संलग्न भएको पाइए उनीहरूमाथि अझ कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।
‘यदि मेरो आफ्नै पार्टीका कोही व्यक्ति लागुऔषध कारोबारमा संलग्न भेटिए भने उनीहरूमाथि झन् कडा कानुनी कारबाही हुनेछ,’ उनले भनेका छन्, ‘यो अभियान मेरो निर्वाचन क्षेत्रबाट सुरु भएको छ र छिट्टै देशभर फैलिनेछ ।’
लागुऔषध नियन्त्रण अभियानमा सहयोग गर्ने नागरिकलाई सम्मान गरिने घोषणा पनि उनले गरेका छन् ।
सार्वजनिक भिडियोमा नियन्त्रणमा लिइएका व्यक्तिहरूले मन्त्रीसामु हात जोडेर आफूहरूलाई छाडिदिन आग्रह गरेको देखिन्छ । मन्त्रीले भने उनीहरूमाथि कुनै किसिमको कुटपिट नहुने आश्वासन दिएका छन् ।
‘तपाईंहरूमाथि कसैले हात हाल्ने छैन । हामी यहाँ कुटपिट गर्न आएका होइनौँ,’ उनले भनेका छन्, ‘देश कानुनअनुसार चल्छ । तपाईंहरूलाई प्रहरीको जिम्मा लगाइनेछ र अदालतबाट कानुनी प्रक्रिया पूरा गरेर मात्रै सजाय दिइनेछ ।’
प्रतिक्रिया दिनुहोस