२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

सुनकोसीमा सुमो खस्दा तीन जनाको मृत्यु, तीन जना बेपत्ता

आइतवार, कार्तिक २ २०८३०३:५३

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सुनकोसी नदीमा सुमो दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।

आइतबार बिहान काठमाडौंबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सुनकोसी नदीमा खस्दा खोटाङका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १० वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार उनीहरू दसैँ मनाउन घर फर्किंदै थिए । आइतबार बिहान करिब २ः३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुमो करिब १५० मिटर तल सुनकोसी नदीमा खसेको थियो ।

दुर्घटनामा सुमोमा सवार तीन जना यात्रु अझै बेपत्ता छन् भने चार जना घाइते भएका छन् ।

घाइते हुनेमा सुमो चालक ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र मृतक स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अंकित विश्वकर्मा रहेका छन् ।

घाइतेमध्ये सम्झना राईलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

सुमोमा चालकसहित १० जना सवार रहेको जनाइएको छ । बेपत्ता यात्रुहरूको पहिचान खुल्न सकेको छैन । उनीहरूको खोजीका लागि खुर्कोटस्थित सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ ।

शनिबार राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ प्रस्थान गरेको सुमो दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij