२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

आइतवार, कार्तिक २ २०८३०४:५७

काठमाडौं । सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’को आयात तथा बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ।

बिस्कुट उत्पादनमा मानव उपभोगका लागि अनुपयुक्त तथा गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सूचना जारी गरी यस्तो निर्देशन दिएको हो।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिको आकस्मिक बैठकले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति पूर्ण रूपमा स्थगन गर्ने निर्णय गरेको छ।

भारतीय नियामक निकाय ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ले अक्टोबर १७ मा जारी गरेको सूचनाका आधारमा नेपालले पनि यस्तो निर्णय गरेको विभागले जनाएको छ।

भारतमा उपभोक्ताको उजुरीपछि उक्त प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’को कारखाना निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा बिस्कुटमा रेसा (फाइबर)को स्रोतका रूपमा गाईवस्तुलाई खुवाउने चोकर प्रयोग गरिएको पाइएको थियो।

उक्त चोकर राखिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ उल्लेख गरिएको थियो।

यसका अतिरिक्त कारखानामा सरसफाइ, कीटनाशक नियन्त्रण, कच्चापदार्थ भण्डारण तथा कर्मचारीको व्यक्तिगत स्वच्छतामा समेत गम्भीर कमजोरी भेटिएको जनाइएको छ। त्यसपछि भारतमा उक्त कम्पनीको इजाजतपत्र निलम्बन गरी कानुनी कारबाही अघि बढाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालका सबै आधिकारिक पैठारीकर्ता तथा खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुटका सबै ब्याच र उत्पादन मितिका सामग्रीको बिक्री वितरण तत्काल रोक्न तथा फिर्ता गर्न निर्देशन दिएको छ।

फिर्ता गरिएका बिस्कुट स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा मुचुल्का तयार गरी सुरक्षित रूपमा नष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ।

विभागले आदेशको अवज्ञा गर्दै बिस्कुटको बिक्री वितरण जारी राखेमा वा जनस्वास्थ्यमा जोखिम पुर्‍याउने कार्य गरेमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij