२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउन सहमति, भैरहवाबाट अन्तर्राष्ट्रिय उडान विस्तारको आशा

बिहिवार, मंसिर ११ २०८३१०:४३

नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको उक्त सहमतिलाई भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा देखिँदै आएको हवाई मार्गसम्बन्धी अवरोध हटाउने महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई हालको एकतर्फी व्यवस्थाबाट दुईतर्फी बनाउने प्रक्रिया अघि बढाइनेछ। यसअघि उक्त हवाई मार्गका कारण भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान तथा अवतरणमा व्यावहारिक कठिनाइ रहँदै आएको थियो। दुईतर्फी सञ्चालन कार्यान्वयनमा आए विमान कम्पनीलाई उडानका थप विकल्प उपलब्ध हुनुका साथै अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।

यद्यपि, सहमतिलाई कार्यान्वयनमा लैजान प्राविधिक पक्ष, उडान सञ्चालन प्रक्रिया र आवश्यक व्यवस्थापनका विषयमा थप छलफल तथा तयारी गर्नुपर्नेछ। त्यसैले यसलाई तत्काल नियमित उडान सुरु हुने अवस्थाका रूपमा बुझ्न नहुने सरोकारवालाको भनाइ छ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी बनाउने सहमतिलाई भैरहवासहित समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक उपलब्धि भएको बताए। उनका अनुसार अन्तर्राष्ट्रिय उडान विस्तार हुँदा पर्यटन, उद्योग, व्यापार तथा होटल व्यवसायमा प्रत्यक्ष लाभ पुग्नेछ। विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बन्ने उनको अपेक्षा छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई पहुँच विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको आवागमन सहज बनाउने बताए। भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउने सम्भावना बढ्ने उनको भनाइ छ। उनले विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन नियमित उडान सेवा, पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।

त्यसैगरी, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले हवाई मार्ग विस्तारलाई लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने बताए। उनका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता महत्त्वपूर्ण बौद्ध तीर्थस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको नयाँ सम्भावना सिर्जना गर्न सकिन्छ।

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार भए नेपाल आउने पर्यटकलाई लुम्बिनीसँगै कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक स्थलसम्म पुर्‍याउन सहज हुनेछ। यसबाट पर्यटन व्यवसायका अतिरिक्त होटल, यातायात, कृषि तथा अन्य सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसरसमेत विस्तार हुने अपेक्षा गरिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनीलाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने लक्ष्य राखिएको थियो। तर, नियमित अन्तर्राष्ट्रिय उडानको निरन्तरतामा देखिएका चुनौतीका कारण विमानस्थलले अपेक्षित गति लिन सकेको छैन।

यस्तो अवस्थामा नेपाल–भारतबीच भएको पछिल्लो सहमति प्रभावकारी रूपमा कार्यान्वयन हुन सके भैरहवा विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij