Logo
02 Feb 2026    २० माघ २०८२, सोमबार

ताजा खबर

घुससहित रंगेहात पक्राउ परे विमानस्थलको भन्सार शाखाका तीन कर्मचारी तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ? नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ सोमबार शिव आराधनाको महत्त्व : अर्धनारीश्वर पूजा, मन्त्र जप र व्रतले मिल्छ सुख–शान्ति युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

Reporter

पश्चिमी न्यून चापीय प्रणाली फेरि केही बलियो बन्दै मौसम बदली गराउन लागेको छ । गत मङ्गलबार र बुधबार भएको मौसम बदली, वर्षा र हिमपातपछि कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएको थियो । खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो ।

आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा यसको हल्का असर देखिन थालेको छ । उक्त प्रणाली सोमबार थप सक्रिय भई पश्चिम क्षेत्रका उच्च हिमाली तथा पहाडी भू–भागमा फैलिने र मङ्गलबार मध्य नेपालसम्म विस्तार हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । ती क्षेत्रमा पूर्ण बदली रहने र अन्य भू–भागमा पनि आंशिक बदली भई चिसो बढ्नेछ ।

अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल पहिले नै चिसो भइसकेको र हिमपात भइरहेको अवस्थामा अब सक्रिय हुने प्रणालीले पनि मध्यमसम्मको वर्षा तथा हिमपात गराउने अधिकारीले बताए ।

उनका अनुसार प्रणालीले मध्य नेपालभन्दा पश्चिम क्षेत्रमा बढी असर गर्ने देखिन्छ । कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा देखिएको बदली क्रमशः बढ्दै जाने र मङ्गलबार मध्य नेपालभन्दा पश्चिममा बदली भई वर्षा तथा हिमपातको मात्रा बढ्ने सम्भावना छ ।

मौसमविद् अधिकारीका अनुसार यस पटकको प्रणाली पश्चिमदेखि मध्य नेपालसम्म प्रभाव पार्नेछ । उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र अन्य भू–भागमा हल्कादेखि मध्यमसम्म वर्षा हुने अनुमान छ । कोशी र बागमती प्रदेशका माथिल्ला भेगमा पनि असर पर्न सक्ने भए पनि तल्लो भेग, तराई क्षेत्र तथा मधेस प्रदेशमा भने असर न्यून रहनेछ । काठमाडौँमा मङ्गलबार राति छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

सोमबार तराईका केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ । हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति तराईका थोरै स्थानमा हुस्सु लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने र गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना छ ।

मङ्गलबार दिउँसो हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा तथा अन्य हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग र कोशी तथा बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

राति हिमाली भू–भागमा सामान्यतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा तथा अन्य हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको