
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले कतारका उनका समकक्षी मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग दोहामा यही सेप्टेम्बर ९ मा गरिएको आक्रमणका निम्ति औपचारिक रूपमा माफी मागेका छन् । इजरायली प्रधानमन्त्री अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अतिथिका रूपमा उपस्थित भएका बेला ह्वाइट हाउसबाट फोनमार्फत यो कुराकानी गरिएको थियो ।
यो फोनवार्ता केही मिनेटसम्म चलेको थियो । ट्रम्प पनि यसमा संलग्न थिए । एक कूटनीतिज्ञले नेतान्याहूले यो कुराकानीका क्रममा स्पष्ट रूपमा माफी मागेको र घटनालाई कतारको सार्वभौमिकताको उल्लंघन भनेर बताएको पुष्टि गरे ।
सेप्टेम्बर ९ मा इजरायलले कतारको राजधानी दोहामा एक हवाई हमला गरेको थियो । उक्त हमलाको निसाना हमासका धेरै ठूला नेताहरू थिए । तर, उनीहरू जोगिएका थिए । हमलामा कतारका एक सुरक्षा गार्ड र हमासका तल्लो तहका केही सदस्य मारिएका थिए ।
यो घटनापछि कतार निकै क्रोधित भएको थियो । त्यसपछि कतारले हमाससँगको वार्तामा मध्यस्थता गर्न अस्वीकार गरेको थियो ।