अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् । बिहीबार सेलम न्युज नेटवर्कलाई दिएको अन्तर्वार्तामा उनले आवश्यक परे तत्कालै पनि इरानमाथि आक्रमण गर्न सक्ने बताएका हुन् ।
“यदि मलाई अवस्था गलत दिशातर्फ गइरहेको लाग्यो भने म फेरि आक्रमण गर्नेछु । सम्भवतः अहिले पनि त्यस्तो गर्न सक्छु । यसमा मलाई कुनै हिचकिचाहट हुने छैन,” ट्रम्पले भने ।
अन्तर्वार्ताका क्रममा ट्रम्पलाई आफ्नो राष्ट्रपतीय कार्यकाल सकिँदासम्म इरानको वर्तमान सरकार सत्तामा कायम रहेमा त्यसलाई आफ्नो पराजय मान्ने कि नमान्ने भनेर सोधिएको थियो । जवाफमा उनले त्यसलाई निश्चित रूपमा आफ्नो हार मानिने बताए ।
पत्रकार ह्यु हेविटले इरानले कुनै वरिष्ठ अमेरिकी अधिकारीको हत्या गरेमा वासिङ्टनको प्रतिक्रिया कस्तो हुनेछ भनेर सोध्दा ट्रम्पले त्यस्तो अवस्थामा इरानको केही पनि बाँकी नरहने चेतावनी दिए ।
बहराइनमा अमेरिकी सेनाको चेतावनी दिने राडार नष्ट गरेको इरानको दाबी
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले बहराइनमा अमेरिकी सेनाको प्रारम्भिक चेतावनी दिने एउटा राडार प्रणाली नष्ट गरेको दाबी गरेको छ ।
इरानी सरकारी सञ्चारमाध्यमले शुक्रबार बिहान आईआरजीसीको विज्ञप्ति सार्वजनिक गरेका थिए । विज्ञप्तिमा दक्षिणी इरानको सिरिक क्षेत्रमा मध्यरातमा भएको अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप उक्त राडारलाई निसाना बनाइएको उल्लेख छ ।
आईआरजीसीले उक्त कारबाहीलाई अमेरिकाका लागि गम्भीर चेतावनी भन्दै होर्मुज जलमार्ग क्षेत्रमा हवाई गतिविधि र तेल तस्करीसँग सम्बन्धित गतिविधि बन्द गर्न आग्रह गरेको छ ।
यस्ता उल्लंघन र आक्रमण दोहोरिएमा आईआरजीसीको एयरोस्पेस फोर्स विश्वको जुनसुकै स्थानमा पनि जवाफी कारबाही गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, शत्रु पक्षको उक्साहटमा नियम उल्लंघन गर्ने कम्पनीहरूले अझ कडा कारबाही भोग्नुपर्ने चेतावनी पनि इरानले दिएको छ ।
यद्यपि, बहराइनमा अमेरिकी राडार प्रणाली नष्ट भएको इरानको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस