सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधिसभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटका क्रममा सभामुख अर्यालले नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गरे। उनले फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको बताउँदै दुई देशबीचको सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिए।
सभामुख अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रहसमेत गरे।
उनले नेपालको संघीय संसद्मा डिजिटल संसद्को अभ्यास सुरु गरिएको जानकारी गराउँदै सूचना प्रविधि, नवीन विधायिकी अभ्यास तथा संसदीय अनुभव आदानप्रदानका क्षेत्रमा फ्रान्ससँग सहकार्य गर्न सकिने बताए।
त्यसैगरी, दुई देशबीचको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउन आठ सदस्यीय नेपाल–फ्रान्स संसदीय मैत्री समूह गठन गरिएको जानकारी पनि उनले दिए।
भेटमा सभामुख अर्यालले बाढीपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले व्यक्त गरेको समवेदनाप्रति आभार व्यक्त गरे। साथै, फ्रान्सेली नागरिकको खोजी तथा उद्धारमा उपलब्ध गराइएको कन्सुलर सहयोग र युरोपेली संघमार्फत प्राप्त पाँच टन मानवीय सहायताका लागि फ्रान्स सरकारलाई धन्यवाद दिए।
भेटका क्रममा अध्यक्ष पिरोनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने, संसदीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका क्षेत्रमा सहयोगका सम्भावनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
प्रतिक्रिया दिनुहोस