नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएको र पत्रकारको श्रम अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भइरहेको तथा सञ्चारमाध्यमका कार्यालय अगाडि अनधिकृत रूपमा सवारीसाधन तेर्स्याएर अवरोध गर्नेहरूमाथि कारबाही नभएको भन्दै महासंघले आपत्ति जनाएको छ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरी श्रम अधिकार उल्लंघन गरिएको महासंघको आरोप छ। पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकमसमेत प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ।
महासंघका आन्दोलनका कार्यक्रम
महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ। त्यसैगरी, मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम तय गरिएको छ।
मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालसँग छलफल गरिनेछ भने मंसिर ७ गते महासंघका सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन्।
त्यस्तै, मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित भेला भएर विरोध प्रदर्शन गर्ने महासंघले जनाएको छ।
महासंघले घोषित आन्दोलनका कार्यक्रमबाट पनि आफ्ना माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस