
काठमाडौं। हिन्दू धर्मावलम्बीहरूको महान् पर्व विजया दशमी आज देशभर विशेष श्रद्धा र उल्लासका साथ मनाइँदैछ। प्रचलित रूपमा बडादशैं भनिने यो पर्व देवी शक्तिको आराधना, सत्यको विजय र सामाजिक सद्भावको प्रतीकका रूपमा प्रत्येक वर्ष आश्विन शुक्ल दशमीका दिन मनाइन्छ।
वेदगुरु रविन्द्र आचार्यका अनुसार, विजया दशमी केवल धार्मिक अनुष्ठान मात्र नभई परिवार र समाजलाई जोड्ने माध्यम हो। उनले भने, “नवरात्रको नौ दिनसम्म देवी दुर्गाले आसुरिय शक्तिसँग युद्ध गरेर दशौँ दिनमा विजय प्राप्त गर्नुभयो। त्यसैको सम्झनामा दशमीलाई ‘विजया दशमी’ भनिएको हो।”
यस दिन मान्यजनका हातबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ। घटस्थापनामा उमारिएको जौंलाई देवीको प्रसाद मानिन्छ। अग्रजको आशीर्वादसहितको टीका–जमराले जीवनमा आरोग्यता, यश, विद्या र समृद्धि प्राप्त हुने विश्वास रहिआएको छ।
बजार, गाउँघर र सहरहरूमा दशैंको उल्लास देखिएको छ। परिवारजन टाढाटाढाबाट एकै ठाउँमा भेला हुने र खुसी बाँड्ने अवसरका रूपमा यो पर्वलाई लिइन्छ।
धार्मिक मात्र नभई कृषि संस्कृतिसँग पनि जोडिएको दशैंलाई नेपालकै राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको पर्वका रूपमा सम्मान गरिन्छ।