राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबार (माघ ४) देखि सुरु हुँदै छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आइतबार बिहान ११ः०० बजे बस्दै छ ।
अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन् । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।

