नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता शर्माले कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिने र बहुमत ल्याउने बताएका हुन्।
नेता शर्माले हालै सम्पन्न विशेष महाधिवेशन पार्टीभित्रको दमन र कार्यकर्ताको परिवर्तनको चाहनाको उपज भएको टिप्पणी गरे।
विगत पाँच वर्षमा संस्थापन पक्षभन्दा बाहिर रहेका नेता-कार्यकर्तामाथि अन्याय भएको र टिकट वितरणमा चलखेल भएका कारण विशेष महाधिवेशनको परिस्थिति बनेको उनको भनाइ छ।
‘आमनागरिक र कार्यकर्ताले पार्टीमा परिवर्तन चाहेका थिए, यो महाधिवेशन त्यसकै परिणाम हो,’ शर्माले भने, ‘निर्वाचन आयोगले समेत वैधानिकता दिइसकेको अवस्थामा अब यसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प छैन।’
उनले लोकतन्त्रमा प्रतिस्पर्धा र गुट स्वाभाविक हुने भन्दै विधि र विधानभित्र रहेर भएको प्रतिस्पर्धालाई सबैले सहज रूपमा लिनुपर्ने बताए।
पार्टी फुटेको नभई लोकतान्त्रिक अभ्यास भएको जिकिर गर्दै शर्माले अब असन्तुष्ट पक्षलाई समेटेर लैजाने जिम्मेवारी नयाँ नेतृत्वको भएको बताए।
‘अधिवेशनबाट आएका सभापति गगन थापा र विश्वप्रकाश शर्मा लगायतका साथीहरूले असन्तुष्ट साथीहरूलाई मिलाउनुहुनेछ,’ उनले भने, ‘पुराना र नयाँ दुवै पुस्ताका नेताहरू बुद्धिमान हुनुहुन्छ, सबैले ‘इगो’ त्यागेर पार्टीलाई एकढिक्का बनाउनुपर्छ।’
नेता शर्माले शेरबहादुर देउवा पक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न जाने चर्चालाई अस्वीकार गरे। उनले भने, ‘देउवा पक्ष ओलीसँग मिल्न जानुहुन्छ जस्तो मलाई लाग्दैन। कांग्रेस अब गठबन्धनको पक्षमा छैन।’
आगामी निर्वाचनमा कांग्रेसले १६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने र चुनावमा स्वीप गर्ने उनको दाबी छ। ‘अब हामी गाउँ छिर्छौं, ढ्याक-ढ्याक पारेर बहुमत ल्याउँछौं,’ शर्माले भने।
नयाँ नेतृत्वबाट विगतका गल्तीहरू नदोहोरिने विश्वास व्यक्त गर्दै डा. शर्माले अबको प्रधानमन्त्री गगन थापा नै हुने ठोकुवा गरे। ‘अबको चुनावपछि बहुमतसहितको प्रधानमन्त्री गगन थापा बन्नुहुन्छ, यसमा कुनै दुविधा छैन,’ उनले भने।

