Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

अमेरिकी डलरको मूल्य बढ्यो राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका

ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर

Reporter

शनिबार (माघ ३) मा बसेको नेकपा (एमाले) को सचिवालय बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार टुंगो लगाएको छ । तर, उक्त बैठकको निर्णयले पार्टीभित्र तरंग उत्पन्न गराएको छ, किनभने एमालेका केही चर्चित र प्रभावशाली नेताहरू नै टिकटबाट वञ्चित भएका छन् ।

एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका वरिष्ठ नेता ईश्वर पोखरेलको उम्मेदवारीबारे कुनै निर्णय हुन सकेन । उनी विगत लामो समयदेखि काठमाडौं–५ बाट निर्वाचन लड्दै आएका भए पनि सो क्षेत्रका लागि उम्मेदवार टुंग्याउने काम बैठकले बाँकी राखेको छ । यसले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्वबीचको राजनीतिक दूरीलाई संकेत गरेको विश्लेषण हुन थालेको छ ।

त्यस्तै, ११औँ महाधिवेशनमा पोखरेल प्यानलबाट महासचिव पदमा प्रतिस्पर्धा गरेका नेता सुरेन्द्र पाण्डेलाई पनि यसपटक टिकट दिइएन । पार्टीको नीतिगत बहसमा सक्रिय भूमिका खेल्दै आएका पाण्डेलाई टिकट नदिनु अध्यक्ष ओली पक्षको रणनीतिक निर्णय भएको कतिपय एमाले नेताहरूको बुझाइ छ ।

उपमहासचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङमा पनि उम्मेदवारको टुंगो लाग्न सकेन । सो क्षेत्रको उम्मेदवार अध्यक्ष ओलीले स्वयं निर्णय गर्ने बताइएको छ, जसले केन्द्रीय नेतृत्वको प्रत्यक्ष हस्तक्षेपलाई देखाउँछ ।

यसैगरी, काठमाडौं क्षेत्रबाट निरन्तर निर्वाचन लड्दै आएका कृष्णगोपाल श्रेष्ठ, पाल्पाबाट ठाकुर गैरे, काभ्रेका गोकुल बास्कोटा तथा मोरङका विनोद ढकालको नाम पनि एमालेले सार्वजनिक गरेको उम्मेदवार सूचीमा समावेश गरिएको छैन ।

पार्टी नेतृत्वले ‘विजयको सम्भावना, संगठनात्मक अवस्था र स्थानीय समीकरण’ का आधारमा उम्मेदवार छनोट गरिएको दाबी गरे पनि टिकट नपाएका नेताहरूको प्रभाव र भूमिकालाई हेर्दा निर्णयले एमालेभित्र असन्तुष्टि बढ्न सक्ने संकेत देखिएको छ । आगामी दिनमा बाँकी क्षेत्रका उम्मेदवार टुंगो लगाउने क्रममा नेतृत्वले कुन प्रकारको राजनीतिक सन्तुलन कायम गर्छ भन्ने चासोको विषय बनेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको