काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा दुई सय शय्याको बाल अस्पताल सञ्चालनमा आएको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ मा स्थापना गरिएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) आइतबारदेखि औपचारिक रूपमा ओपिडी सेवा सुरु गर्दै सञ्चालनमा आएको हो।
सामुदायिक अस्पतालको अवधारणामा सञ्चालनमा आएको यस अस्पतालले सरकार, विभिन्न संघसंस्था, दातृ निकाय तथा समुदायको आर्थिक सहयोगमा सेवा दिइरहेको छ। अस्पतालले कान्ति बाल अस्पतालकै हाराहारीमा शुल्क लिएर उपचार सेवा प्रदान गर्ने जनाएको छ। ओपिडी टिकट शुल्क नयाँ बिरामीका लागि २०० रुपैयाँ र पुराना बिरामीका लागि १०० रुपैयाँ तोकिएको छ। ल्याब तथा अन्य परीक्षण सेवामा पनि कान्ति बाल अस्पतालभन्दा सस्तो शुल्क लिने अस्पतालको दाबी छ।
अस्पतालले दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ओपिडी सेवा सञ्चालन गरिरहेको छ। बिरामीको चाप बढेमा सेवा समय थप गरिने जनाइएको छ। अस्पताल स्थापना गर्नुको मुख्य उद्देश्य सबै प्रकारका बालरोगको उपचार एकै छानामुनि उपलब्ध गराउनु रहेको संस्थापक डा. कोइरालाले बताए।
“नसक्ने परिवारका बालबालिकाले पनि गुणस्तरीय उपचार पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,” उनले भने, “काठमाडौं केन्द्रित सेवाको पहुँच काठमाडौंबाहिर पुर्याउन स्याटेलाइट सेन्टर स्थापना गर्ने योजना पनि छ।”
उनका अनुसार उपत्यकाबाहिर अधिकांश प्रदेशमा ५० देखि १०० शय्याको बाल अस्पताल निर्माण गरिनेछ। हाल अस्पतालमा २८ एनआइसियू र ७ पिआइसियू बेड उपलब्ध छन्। पहिलो चरणमा सीमित बेड सञ्चालनमा ल्याइए पनि बिरामीको संख्या बढ्दै गएपछि ६० बेडसम्म विस्तार गरिनेछ। तीन ब्लकमा निर्माण गरिएको अस्पतालमा हाल दुई सय बेड सञ्चालनमा छन् भने थप दुई सय बेडका लागि आवश्यक संरचना तयार भइसकेको छ।
अस्पतालले एक्स–रे, इसिजी, इको, अल्ट्रासाउन्ड, प्रयोगशाला परीक्षण तथा बाल परामर्श सेवासहित बहुविशिष्टीकृत उपचार सेवा प्रदान गर्नेछ। डा. कोइरालाकै नेतृत्वमा झापाको दमकमा पनि यस्तै प्रकारको बाल अस्पताल गत वर्षदेखि सञ्चालनमा रहेको छ, जहाँ सरकारीसरह शुल्कमा उपचार सेवा दिइँदै आएको छ।
एक अर्बभन्दा बढीका उपकरण
अस्पतालको तीन ब्लकमध्ये एउटा ब्लकको फिनिसिङको काम जारी छ। सम्पूर्ण भौतिक संरचना निर्माणमा मात्रै करिब १ अर्ब ७५ करोड रुपैयाँ खर्च हुने अस्पतालले जनाएको छ। यसबाहेक अस्पतालले करिब १ अर्ब रुपैयाँ बराबरका उपकरण खरिद गरिसकेको छ।
अस्पताल निर्माणका लागि डा. कोइरालाले पाँच वर्षअघि नै सरकार, संघसंस्था, दातृ निकाय र समुदायसँग सहयोगको आह्वान गरेका थिए। अवधारणापत्र स्वास्थ्य मन्त्रालय र मन्त्रिपरिषद्मा बुझाएपछि सरकारले सामुदायिक अस्पतालका रूपमा सहयोग गर्दै आएको छ। चालू आर्थिक वर्षमा मात्रै सरकारले १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
अस्पतालका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र खड्काका अनुसार कान्ति बाल अस्पतालमा उपलब्ध नभएका केही विशेष उपचार सेवासमेत यहाँ सुरु गरिएको छ। बाल मुटुरोग, न्युरो तथा अन्य दुर्लभ बालरोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान भइरहेको उनले बताए।
“कान्तिमा हुने बिरामीको चाप घटाउने र सस्तोमा बहुविशिष्टीकृत सेवा दिनु हाम्रो लक्ष्य हो,” खड्काले भने।
उपचार सेवा बिमामा समेटिने
झापाको दमकस्थित बाल अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ। काठमाडौंको यस अस्पतालमा पनि स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने तयारी भइरहेको छ। अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग समन्वय सुरु गरिसकेको जनाएको छ।

