२०८३, मंसिर ४ गते

बिहिवार, मंसिर ४ गते २०८३

कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

बुधवार, मंसिर ३ २०८३०९:४५

कुवेतको हवाई रक्षा प्रणालीले ड्रोन आक्रमण रोक्ने प्रयास गरिरहेको जनाएको छ। 

अमेरिका र इरानबिच आक्रमण-प्रत्याक्रमण जारी रहेका बेला खाडी क्षेत्रमा तनाव थप बढेको हो।

कुवेती सेनाले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै देशमा सुनिएका विस्फोटका आवाज ड्रोन आक्रमण रोक्ने क्रममा हवाई रक्षा प्रणालीबाट उत्पन्न भएको बताएको थियो। तर ड्रोन कहाँबाट आएका हुन् र आक्रमणबाट कति क्षति भयो भन्नेबारे खुलाएको छैन।

यसैबिच, बहराइनले इरानमाथि 'आपराधिक आक्रमण' गरेको आरोप लगाउँदै नागरिकलाई शान्त रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

अमेरिकाले इरानको दक्षिणी क्षेत्रस्थित केश्म टापुमा रहेको क्षेप्यास्त्र केन्द्रलाई लक्षित गरी आक्रमण गरेको छ। एक अमेरिकी अधिकारीले अल जजीरालाई बताएअनुसार बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानले गरेको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले उक्त हमला गरेको हो।

इरानको होर्मोज्गान प्रान्तका उपगभर्नर अहमद नाफिसीले केश्म टापुमा भएको अमेरिकी आक्रमणबाट घर, व्यापारिक क्षेत्र र अन्य संरचनामा कुनै क्षति नपुगेको बताए। उनले अवस्था नियन्त्रणमा रहेको र उद्धार तथा राहत टोलीलाई सतर्क अवस्थामा राखिएको जानकारी दिए।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनको शेख इसा हवाई अड्डामा रहेको अमेरिकी राडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको जनाएको थियो। अमेरिकी केन्द्रीय कमान्डले भने आक्रमणमा संलग्न ड्रोनलाई अमेरिकी उपकरण वा सैनिकलाई क्षति नपुग्ने गरी रोकेको बताएको छ।

अमेरिकी नौसेनाको पाँचौँ बेडा रहेको बहराइनमा केही दिनयता लगातार ड्रोन आक्रमण भइरहेका छन्। बहराइनको अदालतले इरानसँग साँठगाँठ गरेको आरोपमा ६४ जनालाई आजीवन कारावासको सजाय सुनाएपछि दुई देशबिचको तनाव थप बढेको छ।

यसैबिच, होर्मुज जलमार्गमा तेल ट्यांकरमाथि आक्रमणका घटना पनि बढेका छन्। इरानको सशस्त्र सेनाले मंगलबार जलमार्ग पार गर्ने क्रममा तीन वटा तेल ट्यांकर समुद्रमा बिछ्याइएको बारुदी सुरुङमा ठोक्किएको दाबी गरेको छ। अमेरिकाले भने जलमार्गका मुख्य मार्गबाट बारुदी सुरुङ हटाइसकेको दाबी गर्दै आएको छ। 

सुरक्षा कम्पनी भ्यानगार्डका अनुसार ओमानको खासाब नजिकै पनामाको झण्डा बोकेको 'तारा ग्यास' नामक ट्यांकरमा आक्रमण हुँदा आगलागी भएको थियो। त्यसपछि जहाजमा रहेका चालक दलका सदस्यले जहाज छाडेका थिए। घटनामा एक भारतीय नाविक बेपत्ता छन्।

ओमानको समुद्री सुरक्षा केन्द्रले होर्मुज जलमार्ग नजिकै अर्को ट्यांकरमा आगलागी भएपछि त्यसमा रहेका २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको जनाएको छ।

यता, इरानका विदेशमन्त्री अब्बास अराघची र ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीबिच मस्कटमा भेटवार्ता भएको छ। उनीहरूले समुद्री मार्गको सुरक्षा र कूटनीतिक समाधानका उपायबारे छलफल गरेका छन्।

यसैबिच, अमेरिकी नौसेनाको तेस्रो विमानवाहक युद्धपोत 'यूएसएस थियोडोर रुजवेल्ट' मध्यपूर्व पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गर्ने शिखर बैठकमा पनि इरान युद्ध छलफलको विषय बन्ने बताइएको छ।

क्षेत्रीय तनावकै बिच यमनका हुथी विद्रोहीले साउदी अरेबियाको तेल पाइपलाइनमा रहेका पम्पिङ केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेका छन्।

साउदी अधिकारीहरूले भने रियाद नजिकै एउटा ड्रोन रोकेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij