बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका छन् । बुधबार हेटौँडास्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा बानियाँले मुख्यमन्त्री लामालाई ८ मतको अन्तरले पराजित गरेका हुन् ।
नेपाली कांग्रेसको ३७ सदस्यीय प्रदेश सभामा शतप्रतिशत मतदान भएको थियो । निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दा मुख्यमन्त्री लामाले १४ मतमा चित्त बुझाउनु पर्यो । एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यो परिणामसँगै मुख्यमन्त्री लामाले संसदीय दलमा आफ्नो बहुमत गुमाएका छन्, जसले प्रदेश सरकारको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।
मुख्यमन्त्री लामाविरुद्ध बानियाँ पक्षले साउन ९ गते संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मंगलबार सोही प्रस्तावमाथि भएको मतदानमा बानियाँको पक्षमा २२ सांसदले र लामाको पक्षमा १५ सांसदले मत दिएपछि अविश्वासको प्रस्ताव पारित भएको थियो । दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामा पदमुक्त भएका हुन् ।
संसदीय दलमा विश्वास गुमाएपछि नयाँ नेता चयनका लागि बुधबार निर्वाचन भएको हो । संस्थापन पक्षकै भए तापनि लामा र बानियाँबीच लामो समयदेखि सत्ता र शक्तिका लागि संघर्ष चल्दै आएको थियो । बजेट निर्माण प्रक्रियामा मनोमानी गरेको र एक-एक वर्ष आलोपालो मुख्यमन्त्री बन्ने पूर्वसहमति लामाले तोडेको बानियाँ पक्षको आरोप छ ।

