२०८३, मंसिर ७ गते

आइतवार, मंसिर ७ गते २०८३

‘काल नआएकाले बाँचेँ, जेनजीहरूकै कारण ज्यान जोगियो’ : शेरबहादुर देउवा

शनिवार, मंसिर ६ २०८३०७:०८

पोखरा । नेपाली कांग्रेसका नेता तथा नियमित महाधिवेशन पक्षधर समूहका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी आरजु राणा देउवामाथि भएको आक्रमणबारे बोलेका छन् । काल नआएका कारण आफू बाँचेको उल्लेख गर्दै उनले जेनजी युवाहरूले नै आफ्नो ज्यान जोगाएको बताएका छन् ।

पोखरामा शनिबार आयोजित आफू पक्षीय कांग्रेसको गण्डकी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आन्दोलनका क्रममा आफू निर्घात कुटिएको र त्यसमा ठूलो षड्यन्त्र रहेको दाबी गरे ।

‘कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ । जेनजीहरूले मलाई बचाएका हुन् । फोटोमा देखिन्छ, ती बच्चाहरूले मलाई बचाएका हुन्,’ उनले भने, ‘तर, जेनजीको नाममा ५० वर्ष माथिकाले लाठो ल्याएर पिटेका हुन् । ढुङ्गा हाने । त्यसमा धेरै ठूलो षड्यन्त्र थियो ।’

आक्रमणका क्रममा आफू र पत्नी आरजुलाई बचाउन सेनाले हेलिकोप्टर पठाए पनि अवतरण गर्न नदिइएको देउवाले बताए । सेनालाई घटनास्थलसम्म पुग्ने बाटोसमेत छेकेर आफूहरूमाथि कुटपिट गरिएको उनको भनाइ थियो ।

‘नबोली नहुने भएकाले बोलिरहेको छु । आरजु र मलाई मारिसकेका थिए, हामी बाँचेका हौँ । अहिलेसम्म घाउ परेको छ,’ उनले भने, ‘सेनाले हेलिकोप्टरसमेत पठाएको हो, बचाउन । हेलिकोप्टर ल्यान्ड गर्न दिएनन् । मेरो घर जाने बाटोमा सारा मान्छे बसिदिएर हो । पछि आर्मीले गाडी पठाएर क्याम्पमा गएर बस्यौँ ।’

आन्दोलनका क्रममा आफू र पत्नीमाथि मात्रै नभई कांग्रेसका दिवंगत नेताहरूका घर तथा पार्टी कार्यालयमा समेत आक्रमण भएको भन्दै देउवाले असन्तुष्टि व्यक्त गरे ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी आरजु र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई लक्षित गरी आक्रमण भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम, बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको विराटनगरस्थित घर तथा गणेशमान सिंहको निवासमा भएको आक्रमणको पनि चर्चा गरे ।

‘ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, मेरो श्रीमती मन्त्री थिइन्, हान्यो ठिकै छ । गृहमन्त्री थिए, रमेश लेखक, उनलाई हाने,’ देउवाले भने, ‘कृष्णप्रसाद भट्टराईको आश्रममा किन हानेको ? बीपीको बाबुको घरमा हाने, विराटनगरमा । गणेशमान सिंहको घर हाने । देशभरि हाम्रो पार्टीको कार्यालयमा हान्यो । यो कांग्रेसको खिलाफको षड्यन्त्र हो भन्ने बुझ्नुपर्छ ।’

आफूमाथि आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिने व्यक्तिहरूलाई कांग्रेस नेता गगन थापाले टिकट दिएको आरोपसमेत देउवाले लगाए ।

‘शेरबहादुर देउवाको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई टिकट दियो । मलाई मार्नुपर्छ भन्नेलाई पनि टिकट दियो ४ नम्बरमा,’ उनले भने । देशभर कांग्रेस नेताहरूका घरमा आगजनी तथा आफूहरूलाई मार्ने प्रयासमा संलग्न व्यक्तिहरू पहिचान भइसकेको उनको दाबी थियो ।

विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न

देउवाले कांग्रेसमा विशेष महाधिवेशनको माग र प्रक्रियामाथि पनि प्रश्न उठाए । विशेष महाधिवेशन गर्न सकिने भए पनि त्यसका लागि विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्ने उनको तर्क थियो ।

‘विशेष अधिवेशन गर्न पाइन्छ । सुवर्ण शमशेरले विशेष अधिवेशन गर्नुभएको हो । यसमा ४० प्रतिशतले सहीछाप गर्नुपर्छ,’ उनले भने, ‘त्यो कुरा सभापतिलाई लेखेर दिनुपर्छ, थाहै छैन । कसैले माग पनि गरेको छैन । विशेष भनेपछि विशेष नै हुनुपर्छ नि । सनाखत कसले गरेको छ ? हस्ताक्षर ठीक हो कि होइन ?’

विशेष महाधिवेशन पार्टी कब्जा गर्ने षड्यन्त्र भएको आरोप लगाउँदै उनले त्यसको विरोध गर्नु आफ्नो कर्तव्य भएको बताए ।

आफूले पार्टी र देशबाट पर्याप्त जिम्मेवारी तथा अवसर पाइसकेको उल्लेख गर्दै अब बाँकी समय देशका लागि समर्पित गर्ने उनको भनाइ थियो ।

‘मैले पाउनुपर्ने पाइसकेँ । मलाई केही चाहिएको छैन । पाँच पटक प्रधानमन्त्री भइसकेँ, अब देशलाई दिनुबाहेक केही छैन । यो राष्ट्रलाई दिनुछ,’ उनले भने ।

लोकतन्त्र र गणतन्त्रलाई थप मजबुत बनाउनु आफ्नो अबको प्राथमिकता रहेको बताउँदै देउवाले पार्टीले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको स्मरण गरे । आगामी दिनमा देशको लोकतन्त्र सुदृढ बनाउन आफू समर्पित हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij