२०८३, मंसिर ७ गते

आइतवार, मंसिर ७ गते २०८३

बंगलादेशमा राजनीतिक हिंसा चर्किएपछि ९० प्लाटुन सीमा सुरक्षा बल परिचालन

शनिवार, मंसिर ६ २०८३०७:१६

ढाका । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकका घरमा आगजनी तथा राजनीतिक हिंसाका घटना बढेपछि बंगलादेश सरकारले देशभर थप सुरक्षा बल परिचालन गरेको छ ।

शनिबार (नोभेम्बर २१) देशका विभिन्न क्षेत्रमा ९० प्लाटुन सीमा सुरक्षा बल (बीजीबी) परिचालन गरिएको सरकारी समाचार एजेन्सी बीएसएसले जनाएको छ । हसिनाको प्रतिबन्धित पार्टी अवामी लिगसँग आबद्ध व्यक्तिका घरमा आगजनी र तोडफोडका घटना बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

 

शुक्रबार दक्षिणपश्चिमी जिल्ला नरैलमा अवामी लिगसँग सम्बन्धित व्यक्तिका एक दर्जनभन्दा बढी घरमा आगजनी गरिएको प्रहरीले जनाएको छ । उक्त घटना सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का दुई कार्यकर्ताको हत्यापछि भएको हो ।

मारिएका कार्यकर्ताका आक्रोशित समर्थकले कैयौँ घरमा तोडफोड र आगजनी गरेको स्थानीय प्रहरी अधिकारी शेख तसनिम अलीले बताएका छन् ।

नाम सार्वजनिक नगर्ने सर्तमा एक स्थानीय बासिन्दाले जिल्लामा करिब ५० घरमा क्षति पुगेको जानकारी दिएका छन् । उनका अनुसार हिंसाका कारण स्थानीय बासिन्दा त्रसित छन् । महिला तथा बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ ।

सडकमा काठका मुढा राखेर बाटो अवरुद्ध गरिएकाले दमकल टोली एउटा घटनास्थलसम्म पुग्न नसकेको अधिकारीहरूले बताएका छन् ।

राजनीतिक हिंसामा चारजनाको मृत्यु

नोभेम्बर महिनामा बंगलादेशका विभिन्न स्थानमा प्रहरी चौकीमा आगजनी, बैंकमा आक्रमण तथा प्रतिद्वन्द्वी राजनीतिक दलका कार्यकर्ताका घरमा तोडफोड र आगजनीका घटना भएका छन् ।

पूर्वप्रधानमन्त्री हसिनाले आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेपछि राजनीतिक तनाव थप चर्किएको हो । सन् २०२४ को विद्रोहका क्रममा भएको दमनमा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै उनलाई अनुपस्थितिमै मृत्युदण्ड सुनाइएको थियो ।

नोभेम्बर १४ यता भएका राजनीतिक हिंसामा कम्तीमा चारजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा तीनजना राजनीतिक दलका कार्यकर्ता र आगजनी गरिएको बसमा परेका एक मजदुर छन् ।

 

राष्ट्रिय प्रहरी प्रमुख मोहम्मद अली हुसेन फकिरले हसिनाको गृहनगर तथा अवामी लिगको परम्परागत प्रभाव क्षेत्र गोपालगन्जमा सुरक्षा व्यवस्था पुनःस्थापित भएको बताएका छन् । उनले स्थानीय बासिन्दालाई तोडफोड र अराजकताविरुद्ध उभिन आग्रह गरेका छन् ।

यसैबीच, जीविकोपार्जनका लागि पर्याप्त ज्यालाको माग गर्दै गार्मेन्ट उद्योगका मजदुरले प्रदर्शन गरिरहेका औद्योगिक क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij