काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शनिबार (मंसिर ५) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।
लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए । अविजित रहेका उनले ३१ बलमा तीन छक्का प्रहार गरे । पहिलो इनिङमा कुनै पनि खेलाडीले बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो । उनले मध्यक्रममा टोलीको ब्याटिङ सम्हाल्दै रन गति कायम राख्न महत्त्वपूर्ण योगदान दिए ।
कप्तान रोहितकुमार पौडेलले ३० तथा निरोसन डिक्वेलाले २८ रन जोडे । नवौँ नम्बरमा ब्याटिङ गर्न आएका अलि शेखले आक्रामक रूपमा १२ बलमा दुई चौका र दुई छक्कासहित २४ रन बनाए । ओपनर डार्सी सर्टले २१ रनको योगदान गरे ।
अन्य ब्याटरमध्ये सन्दीप जोरा र अविजित रहेका रुबेन ट्रम्पेलमनले समान चार रन बनाए भने ओपनर आसिफ शेख एक रनमै आउट भए । बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुरुआतमा सहजै १६० रनभन्दा बढीको योगफल बन्न सक्ने अनुमान गरिएको भए पनि सुदूरपश्चिमले कसिलो बलिङ गर्दै लुम्बिनीलाई १५५ रनमै सीमित राख्यो ।
कुगेलेइनको दुई विकेट
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए । उनले २.२ ओभरमै ओपनर आसिफ शेखलाई एलबीडब्ल्यू धरापमा पार्दै टोलीलाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि १६.२ ओभरमा सन्दीप जोरालाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए ।
हेमन्त धामीले एक विकेट लिए । उनले १९.३ ओभरमा अलि शेखलाई स्कट कुगेलेइनबाट क्याच गराएका थिए । अलि आउट भएसँगै लुम्बिनीको ब्याटिङ इनिङ्स समाप्त भएको थियो ।
त्यस्तै, थरिन्दु रत्नायकेले निरोसन डिक्वेलालाई क्लिन बोल्ड गरे । डिक्वेलाको विकेटसँगै कप्तान रोहित र उनीबीच भएको ३९ रनको साझेदारी टुटेको थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि एक विकेट लिए । उनले डार्सी सर्टलाई क्लिन बोल्ड गरेका थिए । डार्सी आउट हुँदा उनी र कप्तान रोहितबीचको ३० रनको साझेदारी समाप्त भएको थियो ।
अब उपाधि जित्न सुदूरपश्चिम रोयल्सले २० ओभरमा १५६ रन बनाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस