दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा मात्रै सीमित नगर्न पूर्वमुख्यमन्त्री शाहीको आग्रह
सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुर्खेतमा मात्रै केन्द्रित नगरी प्रदेशका सबै जिल्लामा सञ्चालन गर्न आग्रह गरेका छन् ।
भौगोलिक विकटता र पूर्वाधार अभावलाई कारण देखाउँदै हिमाली तथा दुर्गम जिल्लालाई प्रतियोगिताबाट वञ्चित गर्न नहुने उनको भनाइ छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि गठित ११ वटा उपसमितिको बैठकमा बोल्दै शाहीले राष्ट्रिय खेलकुद कर्णालीका लागि पहिलोपटक प्राप्त भएको ठूलो अवसर भएको बताए । प्रतियोगिताको उत्साह र अपनत्व सबै जिल्ला तथा समुदायसम्म पुग्नुपर्नेमा उनले जोड दिए ।
“यो कर्णालीका लागि पहिलोपटक आएको अवसर हो । त्यसैले हिमाल, पहाड र तराई भनेर छुट्याउनु हुँदैन । खेलकुदको यो उत्सव सबै जिल्लामा पुग्नुपर्छ,” उनले भने, “सबै ठाउँमा सुविधासम्पन्न पूर्वाधार खोजेर हुँदैन । जहाँ जे सम्भव छ, त्यहीअनुसार खेल आयोजना गर्नुपर्छ । सबै खेल सुर्खेत वा सुविधा भएका ठाउँमा मात्रै राखेर हुँदैन ।”
कर्णालीको भौगोलिक तथा प्रशासनिक संरचना विभिन्न क्षेत्र र भूभागको संयोजनबाट बनेको उल्लेख गर्दै शाहीले राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि प्रदेशको विविधता झल्किनुपर्ने बताए ।
उनले हुम्ला, मुगु, जुम्ला र कालीकोटजस्ता हिमाली तथा दुर्गम जिल्लामा समेत स्थानीय भूगोल, उपलब्ध पूर्वाधार र सम्भाव्यताका आधारमा खेल आयोजना गर्न सकिने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस