काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेटवार्ता गरेका छन् ।
शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको हो ।
भेटका क्रममा दुई देशबीच रहिआएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र सहकार्यका विभिन्न क्षेत्र विस्तार गर्ने विषयमा विचारविमर्श भएको थियो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले शनिबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेल र जापानी उपमन्त्री फुजीबीच द्विपक्षीय हित तथा चासोका विषयमा सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिएका छन् ।
परराष्ट्रमन्त्री खनालसँग पनि भेटवार्ता
यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनालले पनि जापानी उपमन्त्री फुजीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री खनालले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनर्निर्माणका क्रममा समेत सहयोग गर्न तत्परता देखाएकोमा जापान सरकारप्रति आभार व्यक्त गरेका थिए ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौं महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल–जापान महोत्सवमा सहभागी हुन उपमन्त्री फुजी दुईदिने नेपाल भ्रमणमा आएका हुन् ।
प्रतिक्रिया दिनुहोस